बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा विस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।
बागमती प्रदेश सभामा ११० जना प्रदेश सभाका सदस्य रहेका छन् । तीमध्ये राप्रपाका १३ सांसद रहेका छन् । यसैगरी, कांग्रेसका ३७, माओवादीका २१, नेकपा एमालेका २७, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
