अवैध लागूऔषधसहित तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार १६:१२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धरान र झापाबाट लागूऔषध एक/एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले, सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, धरान उपमहानगरपालिका–११ बस्ने ४७ वर्षीया विष्णु माया राई अवैध लागूऔषध गाँजा ३१ केजीसहित पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान आफ्नै घरबाट पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम र नगद ६ हजार ७ सय ५० रुपैयाँसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २६ वर्षीय दयालाल राजबंशी रहेका छन् । उनलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाबारे प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।