अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार १७:३८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तीन जना, ललितपुरबाट दुई जना र सुनसनरीबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम, डिजिटल तराजु थान–१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२–०२४ प २९३३ नम्बरको मोटरसाइकल १ थानसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरीसहित तीन जनालाई बिहीबार राति पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका–४ नमोबुद्धमार्ग बागडोल बस्ने ४१ वर्षीय राजेन्द्र थापाको घरबाट नियन्त्रित अवैध लागूऔषध नुर्फिन १ सय ४ एम्पुल, डाईजेपाम १ सय ३० एम्पुल, फेनारगन ७४ एम्पुल, नगद ४ हजार २ सय ९५ रूपैयाँ र मोबाइल १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजेन्द्र थापा र सोही ठाउँ बस्ने शिब बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले राजेन्द्र थापाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यसैगरी, सुनसरीको ईटहरी उपमहानगरपालिका–४ कचना टोलबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय भिम तामाङ समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यी सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।