सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो

काठमाडौं । शुक्रबार देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान भएको छ । नेपाल प्रहरीको दैनिक बुलेटिनका अनुसार, शुक्रबार कलैया, कास्की र चितवनमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो ।
शुक्रबार बिहान बाराको कलैयामा बसको ठक्करबाट एक बालकको ज्यान गएको हो । बालमन्दिरस्थित सडकमा ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाग बस्ने बिनोदकुमार सोनारका ३ वर्षीय छोरा कार्तिककुमार सोनारको ज्यान गएको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यस्तै, कास्कीमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग.१ ख ७१०८ नम्बरको बसले ग.१९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक युवती २४ वर्षीया दिक्षा कार्कीको ज्यान गएको हो ।
झापा दमक नगरपालिका–४ की स्थायी वासिन्दा कार्की पछिल्लो समय पोखरा महानगरपालिका–५ पर्स्याङ बस्दै आएकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
त्यसैगरी, चितवनमा भएको लोडर दुर्घटनामा सह–चालकको ज्यान गएको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका–२ बिप्राङस्थित सडकमा दारेचोकदेखि शक्तिखोर जाने सडक खन्दै गरेको साङ्छी आदर्स कन्ट्र्क्सनको नम्बर नखुलेको लोडर दुर्घटना हुँदा सह–चालक ४२ वर्षीय नवीन गुरुङको घटनास्थलमै ज्यान गएको हो ।
गुरुङ सोही गाउँपालिका–६ चण्डी भन्ज्याङका स्थायी बासिन्दा हुन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।