मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले अतिआवश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान रोक लगाएको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने जानकारी गराएकी हुन् ।
मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।