अवैध लागूऔषधसहित पाँच जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०,मंगलवार १५:५३
सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित दुई छुट्टाछुट्टै जिल्लाबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ र धनकुटाबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नम्वर १ गजुरी बजारस्थित सडकबाट लागूऔषध गाँजा २१ किलोसहित २ जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय चन्द्रबहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख २११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले धनकुटाको आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका–१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका–२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।