राजदूत आचार्यले बुझाए राष्ट्रपति भेलालाई ओहदाको प्रमाणपत्र

तु खबर संवाददाता
२०७९ फाल्गुन २७,शनिबार १५:२९

काठमाडौँ । माल्टा र युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले राष्ट्रपति जर्ज भेलालाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

सो अवसरमा राष्ट्रपति भेलाले दुरीका बाबजुद पनि हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धले गति लिएको बताए । उनले माल्टामा रहेका नेपाली समुदायको प्रशंसा गर्दै आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुगेको बताए ।

प्रजातान्त्रिक मुल्यमान्यता, कानूनी शासन र मौलिक स्वतन्त्रताप्रति आपसी प्रतिवद्धताका माध्यमबाट नेपालसँग इयुको संलग्नतालाई माल्टाले समर्थन गर्ने उनले बताए । राष्ट्रपति भेलाले राजदूतलाई आफ्नो कार्यकालमा माल्टाका शैक्षिक तथा तालिम संस्थाहरूसँग संलग्न हुन आग्रह गरे ।

राजदूत आचार्यले माल्टासँग विशेषगरी शिक्षा र पर्यटनको क्षेत्रमा सम्बन्ध अझै प्रगाढ बनाउने आफ्नो योजनाबारे जानकारी गराए ।

पछिल्लो सन्दर्भमा नेपालले माल्टामा पर्यटन क्षेत्रले वर्षौँमा सफलतापूर्वक विकास गरेको तरिकालाई नजिकबाट नियाल्दै नेपालले यसबाट सिक्नसक्ने कुराहरुमा उनले जोड दिए ।

राजदूत आचार्यले माल्टा र नेपालले ठोस पहल र परियोजनाहरुमार्फत् विशेष गरी संयुक्त राष्ट्र संघको ढाँचामा बहुपक्षीयताप्रति निकै बलियो प्रतिवद्धता रहेको बताए । उनले जनवरी २०२३ मा सुरु भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को गैरस्थायी सदस्यको रूपमा आफ्नो कार्यकालमा माल्टाले गरिरहेको कामको लागि बधाई दिए ।
भेटमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत् आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन् । कार्यक्रममा राजदूत आचार्य पत्नी सुनिता आचार्य र दूतावासकी तृतीय सचिव पूजन पाण्डे पनि सहभागी थिए ।

घुम्ती सेवामा सेवाग्राहीकोे घुइँचो

त्यस्तै माल्टाकोे सेन्ट जुलिएन्समा राजदुताबासले उपलब्ध गराएको सेवा लिन माल्टामा रहेका नेपालीहरुको घुइँचो लागेको छ । दुई दिनसम्म संचालन हुने उक्त सेवामा झण्डै ३५० जना प्रत्यक्षरुपमा लाभान्वित हुने माल्टाका समाजसेवी रेमलाल खनालले जानकारी दिए । विभिन्न संघ संस्थाको सहयोगमा सो सेवा प्रदान गरिएको हो ।

राजदुत आचार्यले विभिन्न संघ सस्थाका प्रतिनिघिबीच अन्तरक्रिया कार्यक्रम राखी माल्टामा रहेका समस्याहरु समधान गर्न पहल गर्ने बताए ।
साथै २०१८ मा इटालिको रोममा भएको युरोप सम्मेलनदेखि उठिरहेको माल्टाको काउन्सिलर सम्बन्धी सेवा स्पेनबाट पनि संचालन गर्ने निर्णय भएको चाँडै प्रक्रियागत रुपमा अगाडि लैजाने र आगामी अक्टोबरमा पर्यटन प्रर्वद्धन सम्बन्धी कार्यक्रम माल्टामा गर्नेगरी तयारी सुरु गरिएको नेपाली जनसम्पर्क समितीका सभापति सन्देश केसीले जानकारी दिए ।