राष्ट्रपति चयनका लागि मतदान सुरु
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा केहीबेर अघिदेखि मतदान सुरु भएको हो ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउनेछन् ।
संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।
