राष्ट्रपति मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र
काठमाडौं । आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् ।
राष्ट्रपतिको आगामी फागुन २५ गते हुने निर्वाचनका लागि मत माग्न डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कासहितका नेताहरूसँग पौडेल रास्वपाको पार्टी कार्यालय पुगेका हुन् ।
पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन् । रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ ।
