बागमती प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १९:११
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम दुई वटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

ती विधेयक बागमती प्रदेशको प्रदेश सभाको गत फागुन १४ मा बसेको बैठकले पारित गरी सभामुखबाट नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश भएको थियो ।