प्रहरीको भ्यानबाट हाम फालेर फरार भए थुनुवा
जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएका छन् । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैलाई लग्ने क्रममा थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् । मुखिया यदुकोहाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार, थुनुवा मुखिया कमला नहरमा हाम फालेर भागेका छन् । प्रहरीले लखेटे पनि समात्न सकेनन् । रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरेपनि हालसम्म फेला पर्न नसकेको बुझिएको छ ।
