मकवानपुरका घलानसहित तीन जना पक्राउ

मकवानपुर । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कालीकोटा र धालिङ जिल्लाबाट मकवानपुरका एक जनासहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँडाचक्र नगरपालिका–६ दाँहा बस्ने २९ वर्षीय लोकेन्द्र बम र २१ वर्षीय भरत बहादुर शाही रहेका छन् ।
प्रहरी चौकी नाग्मागार्डबाट खटिएको प्रहरीले प्र.०२–०३०१५ प १२७० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले शुक्रबार बिहानधादिङको थाक्रे गाउँपालिका–२ समानटारस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने २९ वर्षीय विजय घलान रहेका छन् ।
घलानलाई प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बिहान महादेववेशी बजारतर्फ पैदल आउँदै गरेका उनलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामदभएपछि निजलाई पक्राउ गरिएको जनाइएको छ ।
दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।