सार्वजनिक लेखा समितिमापरेका उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढाइने
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न समितिले सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ । समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गरिनुका साथै ती विवरण समितिका सदस्य सांसदहरूलाई वितरण गरिनेछ।
संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरीका लागि एकद्वार प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। यस व्यवस्थाअनुसार एउटै उजुरी एकभन्दा बढी समितिमा नपर्ने र सम्बन्धित विषयको अधिकारक्षेत्रभित्र पर्ने समितिले मात्रै त्यस्ता उजुरीको अध्ययन तथा कारबाही गर्ने व्यवस्था हुनेछ।
एकद्वार प्रणाली पूर्ण रूपमा लागू हुनुअघि प्रत्येक समितिले आफूसमक्ष रहेका उजुरीहरूको अवस्था समीक्षा गरिरहेका छन्। सोही क्रममा सार्वजनिक लेखा समितिले पनि आफूकहाँ प्राप्त उजुरीबारे प्रारम्भिक छलफल गर्न लागेको हो।
समितिले उजुरीहरूको प्रकृति र गम्भीरताको मूल्याङ्कन गर्दै थप अध्ययन, छानबिन वा अन्य आवश्यक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्ने जनाएको छ। त्यसका आधारमा उजुरीमाथिको आगामी कारबाहीको प्रक्रिया तय गरिनेछ।
