बागमती प्रदेशसभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले यही फागुन १० गते अपराह्न २ बजे बस्ने गरी बैठक आह्वान गरेको जनाएको छ ।
उक्त बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सभाको बैठक यसअघि गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादनको प्रस्ताव पारित गरेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।
बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
