बागमतीमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना

तु खबर संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १७:२४

मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजार भन्दा बढी पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमतीले आईतबार तथ्याङ्क सार्वजनिक गर्दै प्रदेशमा २०२२ मा उक्त घटनाबाट १ हजार ४२५ जना पीडित भएको जानकारी गराएको हो ।

इन्सेक बागमतीका अनुसार, उक्त घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी ३ सय ७५ जना पीडित भएको छ भने ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना यौनिक अल्पसङ्ख्यसहित १ हजार ५० जना पीडित भएका छन् ।

सोही अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य समस्या लगायत विभिन्न कारणले मृत्यु भएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिए ।

यसैगरी, कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना, भेला तथा संगठित हुने अधिकारमा ३० जना महिला र २४५ जना पुरुष गरी २५५ जना पीडित भएको संयोजक भण्डारीले बताए ।

इन्सेकका तथ्यांकअनुसार सन् २०२२ मा महिला अधिकार उल्ङ्घनका घटनामा ४३४ जना महिला पीडित भएका छन् भने बाल अधिकार उल्लङ्घनका घटनामा ४०२ जना पीडित भएका छन् ।