एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

तु खबर संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १६:२५
file-photo

काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले शुक्रबारबाट २ महिनाका लागि उक्त अभियान सुरु गरेको हो ।

अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेखि बलियो बनाउनेगरी संगठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

अभियानअन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी संगठनबारे कार्यक्रम गर्नेछन् ।

पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न पठाएको एमालेले केन्द्रीय उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजनका लागि खटाएको छ ।

अभिमुखीकरणका लागि प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल तोकिएका छन् ।

त्यसैगरी, महासचिव शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय) को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने विशेष कमिटीको अनुगमन तथा संयोजनमा रहेका कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।

केन्द्रीय कमिटीका सदस्यहरू हालको जिम्मेवारीभन्दा भिन्न जिल्लामा खटिएका छन् । त्यसैगरी प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिएको छ ।