सांसद भण्डारीलाई उपचारको लागि मुम्बई लगियो

तु खबर संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १९:२४

काठमाडौं । जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो ।

अस्पतालका अनुसार, भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गरिएको हो । भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ ।

दुवै हात, दुवै गोडा र अनुहार जलेको र हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा कीर्तपुरस्थित बर्न अस्पतालमा निधन भएको छ ।