बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभा बैठक सम्बोधन

तु खबर संवाददाता
२०७९ माघ २६,बिहीबार १६:०३
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८४ बमोजिम बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै वनहरुको संरक्षण र सदुपयोग गरी हेटौंडा वरिपरिका सम्भावित क्षेत्रहरुमा मरिच खेती र नदी किनाराका भिराला पाखाहरुमा चिउरी, केरा, आँप, कटहर, भूँइकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई खानपान शैली परिवर्तन गर्नुपर्ने बताए । उनले उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसंग जोड्नुपर्ने बताए ।

बागमती प्रदेशले हाइड्रोजन प्लान्ट स्थापना गरी उर्जाको क्षेत्रमा वृहत परिवर्तन ल्याउने सम्भावना बोकेको उल्लेख गरे ।प्रदेश प्रमुख शर्माले प्रदेश पाँच हजार वर्ष यताका कला–कौसल, सभ्यता र संस्कृतिका कारण गौरबमय भएको बताउँदै भूगोल र जनसंख्याका दृष्टिले पनि हाम्रो प्रदेश अत्यन्तै महत्वपूर्ण विविधतामा आधारित सहिष्णुताको जगमा विकास र पुस्तान्तरण हुनुपर्ने तर्फ औंल्याए ।

उनले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न सुझाव दिए । प्रदेश सरकारले किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मूक्त भई निर्धक्कता पूर्वक कृषकले सकेजती उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने उल्लेख गरे ।

बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्विक अन्तर नभएको गुनासो गर्दै प्रदेश सरकारले बजेट विनियोजन गर्दा ठूला–ठूला जलविद्युत आयोजनाहरु, नमूना कृषि फार्महरु, प्राविधिक शिक्षालयहरु र उद्योगहरुको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौं भने मात्र रोजगारीका अवसरहरु सृजना हुने बताए ।

साथै उनले प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउँन नदिन सुझाव दिँदै जनताहरुको आशा एवम् विश्वासलाई व्यवहारमा मुर्त रुप दिनका लागि जनमुखी सरकारको अवधारणा अनुरूप प्रदेश सरकारका नीति, कार्यक्रम, बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैं सचेत र क्रियाशील हुने बताए ।

उनले बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मुल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी ७० वटा विधेयकहरु पारित भएको प्रशंसा व्यक्त गरे । प्रदेशसभाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँन आवश्यक पर्ने जनमुखी कानूनहरु निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टी गर्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रदेश प्रमुख शर्माले अब सिंगो प्रदेशको अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक नीति, नियम र कानूनको निर्माण एवम् परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचविखन र लागूऔषध ओसारपसार जस्ता विकृती विसंगतीहरुको अन्त्य गर्नुपर्नेमा जोड दिए ।