सहमति जुट्न नसकेपछि बागमती प्रदेशसभाको बैठक स्थगित

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार १७:३०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक  माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो । आज दिउँसो बसेको सर्वदलीय बैठकमा उक्त समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यहरुको भागबण्डामा सहमति हुन नसकेपछि प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, उक्त समितिमा सहमती जुटाउन आज साँझ नै फेरी दोस्रो सर्वदलीय बैठक बस्दैछ । बागमती प्रदेशसभाको माघ २६ गते बस्ने बैठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३७, नेकपा एमाले २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।