एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार १०:४९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो ।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिइन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस्तै, आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।