लागूऔषधसहित ११ जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार ०९:५१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले शुक्रबार र शनिबार गरी विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुर्खेत, कञ्चनपुर, नवलपरासी (पूव), झापा जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतलसहित सुनसरी कोशी गाउँपालिका–६ घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान पक्राउ गरकेको छ । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

झापाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०३–००१ ख १०१० नम्वरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ ग्रामसहित बझाङ छबिसपाथिभेरा गाउँपालिका–६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा सत्य नारायणलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध चरेश १ किलो ६ सय ३२ ग्रामसहित सोही उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय तुलाराम खत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यालबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय सन्तोष रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम र नगद २ लाख २२ हजार ८ सय ६५ रूपैयाँ सहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय रहिस कबडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद १ लाख १ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २९ वर्षीय प्रेम दमाई र २७ वर्षीय सुनिल थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध चरेश ३ ग्राम ५ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–३ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–२ भाँसी बस्ने २५ वर्षीय दिपेन्द्र शाह र दार्चुला मालिकार्जुन नगरपालिका–५ डाँडाकोट घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–१५ गोवरिया डेरा गरी बस्ने २० वर्षीय नविन अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी(पूर्व)को मध्यबिन्दु नगरपालिका–१४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१९ बस्ने २५ वर्षीय आशिष हिताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको कमल गाउँपालिका–३ बस्ने ३५ वर्षीय राज कुमार लावतीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद १० हजार ९ सय १० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।