महोत्सवको भिडमा च्यापिएर १३ जना घाइते
विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भिड बढेपछि च्यापिएर कम्तिमा १३ जना व्यक्ति घाइते भएका छन् ।
धनकुटाको तल्लो टुँडिखेलमा आयोजित महोत्समा शनिबार गायक प्रमोद खरेलले प्रस्तुती दिने कार्यक्रम थियो । खरेल आउने भएपछि महोत्समा अत्यधिक भिड भएको र च्यापिएर कम्तिमा १३ जना घाइते भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये दुई जना गम्भीर घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
महोत्सवमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।
धनकुटामा माघ ६ गते महोत्सव जारी छ । उक्त महोत्सव माघ १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।
