नक्कली प्रहरी बनेर ठगी गर्ने गुरुङ पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १४,शनिबार ०९:५०
सांकेतिक तस्बिर

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मस्याङदी गाँउपालिका–१ घनपोखराका ३५ वर्षिय जीवन गुरुङ रहेका छन् ।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए ।

गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङ प्रहरीले जनाएको छ ।

गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जनाइएको छ ।