बागमतीमा मन्त्रि परिषद् विस्तार, युवराज र कुमारी फेरि मन्त्री हुने

तु खबर संवाददाता
२०७९ माघ ११,बुधबार १३:१४
file photo

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार मन्त्री परिषद् विस्तार गरेका छन् । नयाँ मन्त्रीहरुको सपथ दुई बजेलाई तय भएको छ । यससंगै बागमतीमा मन्त्री परिषद्ले पूर्णता पाएको छ ।

आज विस्तारित मन्त्री परिषद्मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयमा उद्धव थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान, भौतीक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल, कृषि तथा पशुपंक्षी मन्त्रालयमा केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्रालयमा एकलाल श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा डम्बर तामाङ तथा वन तथा वातावरण मन्त्रालयमा राजु बिष्टलाई जिम्मेवारी दिइने भएको छ ।

यस अघि मुख्यमन्त्रीमा नियुक्त भएसंगै जम्कट्टेलले मन्त्रालयको संख्या पुनरावलोकनका लागि एउटा समिति बनाएका थिए । प्रमुख सचिवको नेतृत्वमा बनाइएको सो समितिले १४ वटाबाट घटाएर ११ वटामात्रै मन्त्रालय राख्ने र राज्यमन्त्री नराख्ने सुझाव दिएको आधारमा सोही बमोजिम गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले जानकारी दिएको छ ।