राप्रपा नेपालको महाधिवेशन फागुनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समितिको काठमाडौंमा बैठक उक्त निर्णय गरेको हो ।
बैठकले आगामी फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ ।
बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापि जनसंघर्ष कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न, संगठित धर्म परिवर्तन रोक्न, सनातन धर्म संस्कृतिमा रहेको विकृति र विसंगतिको अन्त्य गर्न तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति जनमत तयार गर्न राप्रपा नेपाल आवद्ध नेपाल सनातन धार्मिक महासंघको ईकाई देशको सम्पूर्ण पालिकाका वडाहरुमा गठन गर्ने बैठकले निर्णय गरेको छ । साथै सनातन धर्ममा आस्था राख्ने सबैलाई उक्त ईकाईमा रहेर काम गर्न बैठकले आह्वान समेत गरेको छ ।