एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १०, मंगलवार ०८:४९
सांकेतिक तस्बिर

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्धामा फरार ३३२ जनालाई सोमबार एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उद्देश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत सोमबार ३३२ जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाएको थियो ।

पक्राउ परेकामध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् ।

फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको हो । साथै यस्तो कारवाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ ।