लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको छ : मुख्यमन्त्री जम्मकट्टेल

तु खबर संवाददाता
२०७९ माघ ६,शुक्रबार १७:२२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशमा हालसम्म १ हजार ४२० जना कर्मचारी नियुक्त गरेपछी काममा केही सहज भएको बताउँदै अझै कर्मचारीको आवश्यकता रहेको बताए । उनले प्रदेशभित्र अझै ३ हजार ५०० कर्मचारी अपूग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसकेपछी थप सहज हुने बताए । त्यसका लागि प्रदेश निजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

प्रदेश आफैमा नयाँ भएकाले संघीय कानूनसँग बाझिएकाले केही समस्या भएको र अहिले सहज भएको उनको भनाई छ । प्रदेशमा नेतृत्वकर्ता र कर्मचारी सबैले सुशासनको पालना गर्नुपर्ने बताए ।

उनले सो क्रममा लोक सेवा आयोगलाई दोस्रो कार्यकालको सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । लोक सेवा आयोगलाई परेका कानूनी अड्चन फुकाउँदै लैजाने उनले बताए ।