सीआईडी हौं भन्दै लुटपाट गर्ने ६ जना प्रहरीको नियन्त्रणमा
जनकपुरधाम । सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जनालाई प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत रहेका छन् ।
उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपराह्न सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए ।
महतोको साथमा रहेका ७५ हजार नगद, चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेको प्रहरीले जनाएको छ । उनीहरुले लुटपाटपछि सीआईडी भन्दै धम्काएका थिए ।
महतोले दिएको उजुरी दिएपछि हुलियाको आधारमा ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
