गोंगबुको होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको महानगरपालिका–२६ गोङ्गबुबाट ७३१ थान राहदानीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट उक्त राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कञ्चनपुरको बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई पक्राउ गरेको हो ।
उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।
उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ ।
गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
