फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका–८ घर भएका ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका–५ सतुङ्गलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको जनाइएको छ ।
