लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ ग्रहण गरेका छन् । सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांणले शपथ ग्रहण गरेका हुन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्री र दुई जना मन्त्रीको शपथ भने दाङमा गराएका थिए ।
सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए । तर, उनीहरुले प्रदेश सभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निविरोध निर्वाचित भएकी हुन् ।
