गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

तु खबर संवाददाता
२०७९ पुष २९, शुक्रबार १५:१५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालका अनुसार, प्रदेशसभा बैठकमा अधिकारीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ३१ मत परेको थियो ।

ज्येष्ठ सदस्य बस्यालका अनुसार, नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा उपस्थित थिएनन् । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए ।

एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।