बागमती प्रदेशसभा : आज सभामुखको निर्वाचन

तु खबर संवाददाता
२०७९ पुष २९,शुक्रबार ०८:३७

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए ।

सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका थिए । सभामुखका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले एक नम्वरमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।

यसैगरी, उम्मेदवारी दिनेमा नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले दोस्रो नम्वरमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार रहेका छन् ।

यस्तै, सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठकले उम्मेदवारी दिएका छन् । उनले ३ नम्वरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।

बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन भने भोली मात्रै हुने भएको छ । आज हुने सभामुखको निर्वाचन पश्चात उपसभामुखको निर्वाचन कार्यतालिक सार्वजनिक गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।