तीव्र उतारचढावबीच ४१ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ पुष २८,बिहीबार १६:४४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब ४७ करोड ७६ लाखमाथिको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से २१.३५ अंकले घटेर २१९० विन्दुमा पुगेको थियो भने ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको थियो ।

दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक सबै उपसमूहमा राताम्मे छन् ।

फाइनान्स र लगानी उपसमूह सबै भन्दा धेरै ३ प्रतिशतसम्मले ओरालो लागेका छन् । बिहीबारको बजारमा कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोपावरको सेयर लगानीकर्ताले उच्च नाफा कमाए । दुवै कम्पनीको सेयर मूल्यमामा सकारात्मक सर्किट लागेको छ ।