निसास्सिएर २ युवकको ज्यान गयो
वीरगञ्ज । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको ज्यान गएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर दुई जना भारतीय नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।
त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्सा प्रहरीले जनाएको छ ।
बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
