चाँदी जस्तो देखिने सेतो धातु बिक्री गर्ने दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार १०:३९

मोरङ । मोरङ प्रहरीले चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरी ठगी गरेको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नबिन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका–९ स्थित बलबहादुर श्रेष्ठको ओम सुनचाँदी पसलमा गत पुस १३ गते उनीहरूले ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेकोमा उक्त धातु पगाल्दा चाँदी नभई तामा जस्तो धातु भएको खुल्न आएको थियो ।

साथै उनीहरूले पुनः सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा आई ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरु सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।