प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार ०८:३०

काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ ।

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ ।

पदपूर्ति समितिमा पाठ्यक्रम समयानुसार परिवर्तनका लागि अध्ययन गरी सुझाव दिन बनेको समितिले आफ्नो प्रतिवेदनसमेत बुझाएको समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

विज्ञसहितको उक्त समितिले छ महिनाभन्दा बढी लगाएर अध्ययन गरी प्रतिवेदन बनाएको हो । मुख्यगरी प्राविधिक पदमा सेवा, संविधान तथा कानुनका पाठ्यक्रम बढी रहेकाले प्राविधिक क्षेत्रका र विषयविज्ञ अपुग हुने अवस्था आएकाले त्यसलाई सम्बोधन हुने गरी र प्राविधिक विषय बढी राख्ने गरी प्रतिवेदन तयार भएको जनाइएको छ ।

यस्तै, प्रहरीको परीक्षामा अङ्ग्रेजीमा ६० र नेपालीमा ४० प्रतिशत अङ्क दिने व्यवस्था रहेको तर अन्य सुरक्षा निकायमा ५०–५० प्रतिशतको व्यवस्था भएकाले त्यसलाई समेत एकरुपता दिने गरी प्रतिवेदन पेस भएको छ ।

पाठ्यक्रमको अध्ययन गरी परिमार्जनको लिखित प्रतिवेदनसहित सुझाव दिने गरी लोकसेवा आयोगका विज्ञ डा.खगेन्द्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो ।