फेसबुकमा जागिरको विज्ञापन गरेर १८ लाख ठगी, एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २६,मंगलवार १७:५१
file-photo

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘विदेशमा राम्रो रोजगारको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भएर काठमाडौंको नागार्जुन बस्ने मनम घर्ति रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका अनुसार, २३ वर्षीय घर्तिले सुरज थापा नामबाट फेसबुकमा विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँथे । विज्ञापनमा भनिएको हुन्थ्यो–‘फ्रान्स र स्विजरल्याण्डमा रोजगारमा जान चाहनेले ह्वाट्स एपमा सम्पर्क गर्नुहोला ।’

विदेशी नम्बरको ह्वाट्स एपमा सम्पर्क गरेपछि आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँथे । पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

मनम र अर्का एक जना मिलेर १८ लाख ठगेको थाहा भएको छ । ठगेको रकम दुबईमा बस्ने शेर बहादुर चौधरीलाई पठाउने गरेको मनमले प्रहरीलाई बयान दिएका छन् । आरोपीहरू विरुद्ध ४ जनाले जाहेरी दिएका छन् । मनमको डेराबाट प्रहरीले १७ वटा नागरिकतासमेत बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।