आगोलागीमा परेर तीन जनाको ज्यान गयो
काठमाडौं । देशका विभिन्न स्थानमा भएको आगोलागीमा परी तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, बर्दिया, अर्घाखाँची र बागलुङमा भएको आगोलागीमा परेर तीन जनाको ज्यान गएको हो ।
मंगलबार बिहान बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगलबार बिहान नै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ लाहापे बस्ने ६५ वर्षीय तुलसा सुनारको आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा ज्यान गएको छ । आगोेले जलेर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–५ ठुल्ढुङगा बस्ने ५० वर्षीय धन बहादुर नेपालीको आगोमा जलेर ज्यान गएको छ । आफ्नो घरबाट करिब १ किलोमिटर टाढा मानिस नबस्ने कच्ची धन्सारमा सुतेको अवस्थामा आगोलागी हुँदा उनको जलेर ज्यान गएको हो ।
