लागूऔषधसहित चार जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २६, मंगलवार ०९:५०

काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी (पश्चिम) र मोरङ जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सोमबार नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१२ भुमही चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध फेनारागन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल, नुर्फिन ३१ एम्पुलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका–१५ शान्तिटोल बस्ने २७ वर्षीय सनम पुन मगर र सोही ठाउँ बस्ने २१ वर्षीय विराट केसी रहेका छन् ।

सुनवल नगरपालिका–१२ भुमहीस्थीत एक होटलमा बसेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम), ईलाका प्रहरी कार्यालय सुनवल र अस्थाई प्रहरी पोष्ट भुमहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले सोमबार नै मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम १० चक्कीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–२ बस्ने २४ वर्षीय हेमन लिम्बु र सोही नगरपालिका–३ बस्ने २५ वर्षीय सुजन लिम्बु रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।