बलात्कार प्रयास गरेको आरोपमा २ जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १५:५३
सांकेतिक तस्बिर

रुपन्देही । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका–३ का ३० वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।

अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।

यस्तै, प्रहरीले १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरेको छ ।

बालिका घरमा एक्लै भएको बेलामा मधुले आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।