मृतकको हातबाट ब्रास्लेट चोर्ने अस्पतालका गार्ड पक्राउ
चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा प्रहरीले अस्पतालकै गार्डलाई पक्राउ गरेको छ ।
पुस १७ गते नारायणगढ–मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्वरको ट्रकको ठक्करबाट प्रदेश–०३–००३ प ६५७४ नम्वरको मोटरसाइकलका चालक घाइते भएका थिए ।
तनहुँको भानु नगरपालिका–२ ठेगाना भई भरतपुर–१ मा बस्दै आएका मोटरसाइकल चालक ३७ वर्षीय सञ्जिवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा रहेको अवस्थामा हातमा लगाएको ब्रास्लेट चोरी भएको थियो ।
मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रास्लेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएका थिए।
अनुसन्धान गर्दै जाँदा उक्त ब्रास्लेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चोरीमा संलग्न खोटाङको ऐसेलुखर्क–५ ठेगाना रहेका गार्ड २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरेर जिल्ला आदलतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।
