एकीकृत समाजवादीको निर्णय : वामपन्थी एकता र सहकार्यको जिम्मेवारी सचिवालयलाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।
मंगलबार बसेको पार्टीको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै, बैठकले नयाँ समीकरणपछि बनेको प्रचण्ड नेतृत्वको सरकारबारेको दृष्टिकोण बनाउने जिम्मा पनि पोलिटब्युरोले सचिवालयलाई नै दिएको छ । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्ने भन्ने बारेमा अन्य राजनीतिक दल र उनीहरूका गतिविधि हेरेर निष्कर्ष निकाल्ने भएको छ ।
यस्तै, बैठकले एकता यसबाहेक पार्टी शुद्धीकरण, सुदृढीकरण, पार्टी सदस्यता अभियान लगायतका बारेमा बैठकमा छलफल भएको भन्दै त्यसलाई अभियानकै रूपमा अघि बढाउन सचिवालयले कार्ययोजना बनाउने निर्णय गरेको छ ।
