माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जम्मकट्टेल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएको छ । शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलबाट दलको नेतामा जम्मकट्टेलको नाम चयन भएको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् ।
दलको नेतामा अर्का प्रदेश सांसद सरल सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेतामा जम्मकट्टेलको नाम प्रस्तुत भएपछि सहयात्री भने बैठक कक्ष छोडेर बाहिरिएका छन् ।
संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।
जम्मकट्टेल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनी यसअघि पनि माओवादी बागमती प्रदेशको संसदीय दलको नेता थिए ।
