नीलगाई मार्ने तीन जना पक्राउ
काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेका छन् ।
सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासुसहित तीन जनालाई नियन्त्रणमा लिएर वनलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीले जनाएको छ ।
