बागमती प्रदेशसभाका सदस्यद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १५:३९

मकवानपुर । बागमती प्रदेशसभाका १०९ जना सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेशसभा सचिवालयमा भएका एक समारोहकाबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, उक्त कार्यक्रममा १५ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए । जसमा १२ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य ढुंगानाले भने बुधबार नै बागमती प्रदेश प्रमुख यादचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । उनले निमित सभामुखको कार्य सम्हालेका थिए ।

उक्त समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्षमी शाक्य, राजेन्द्र प्रसाद पाण्डेलगायतको सहभागीता रहेको थियो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।