जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ९, शनिबार १३:२७
सांकेतिक तस्बिर

चितवन । जबरजस्ती करणी मुद्दाका फरार दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय अमित पौडेल र भरतपुर महानगरपालिका–२७ बस्ने ५५ वर्षीय प्रेमबहादुर गुरूङ रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, जबरजस्ती करणी मुद्दामा अमितलाई जिल्ला अदालत चितवनको २०६६ असार ३१ गतेको फैसलाले ५ वर्ष कैद र प्रेम बहादुरलाई जिल्ला अदालत चितवनको २०७४ माघ २२ गतेको फैसलाले ४ वर्ष कैद ठहर भई फरार रहेका थिए ।

पौडेलले २०६५ असार ११ गतेको दिउँसो ८ वर्षीया बालिकालाई ललाई फकाई उनकै घरमा जबरजस्ती करणी गरेको घटनामा र प्रेम बहादुरले २०७२ चैत ४ गते साँझ एक महिलालाई नारायण नगरपालिका–१ स्थित एक होटल पछाडी ललाई फकाई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितनव पठाइएको छ ।