बागमती प्रदेश : आज सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार ०७:५९

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बस्दैछ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न आज बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो ।

निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार सर्वदलीय बैठक आह्वान गरेको उनले बताए ।

बैठकमा प्रदेशसभामा रहेको ७ वटा दलको दुई/दुई जना प्रमख नेताहरुको सहभागी रहने जनाइएको छ । उक्त बैठक वर्तमान प्रदेशसभामा जेष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षता बस्ने भएको छ ।

७२ वर्षीय ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन् ।