सट्टेबाजी गराएको आरोपमा श्रेष्ठ पक्राउ
काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको मरूटोलबाट सोमबार ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ । श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको छ ।
विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरु विरुद्ध मुलुकी अपराधसंहिताको दफा–१२५ को उपदफा–४ अनुसार सट्टेबाजी गर्न नपाउने कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
