मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते
वीरगञ्ज । बाराको निजगढमा आईतबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
निजगढ नगरपालिका–१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्वरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राई रहेका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भुवनले चलाएको मोटरसाईकलमा तीन जना सवार रहेका थिए ।
उक्त दुर्घटनामा परेर सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी घाइते छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।
